काठमाडौँ ।ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा झडप हुँदा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार सांसदहरूसँग छलफलपछि यो निर्णय गरेका हुन्।
शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए, जसमा चार जना प्रदर्शनकारीसमेत परेका छन्। तीमध्ये दुई जनालाई गोली लागेको थियो।
गृहमन्त्रीले विवाद समाधानका लागि समिति गठन गर्ने तयारी गरेको र यस विषयमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बुधबार छलफल गरिने जानकारी दिएका छन्। घटनास्थलबाट विभिन्न हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले कात्तिक २३ गते निर्माण सुरु गरेपछि विरोध र झडपको अवस्था सिर्जना भएको हो।















