प्रयागराज, उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्। बुधबार राति १:३० बजे घाट क्षेत्रमा ब्यारिकेड भत्किएपछि भागदौड मच्चिएको थियो।
डीआईजी वैभव कृष्णका अनुसार, ब्रह्म मुहूर्तका लागि घाटमा सुतेर बसेका भक्तजनलाई पछाडि आएका श्रद्धालुहरूले नदेख्दा दुर्घटना भएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेर राहत तथा उद्धारमा जोड दिन निर्देशन दिएका छन्।
मौनी अमावस्याका दिन अमृतस्नानका लागि ८ देखि १० करोड भक्तजनको उपस्थिति रहने अनुमान गरिएको थियो।















