काठमाडौं, ४ फागुन – पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन्।
शनिबार भएको घटनापछि दुबैलाई प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल कीर्तिपुर अस्पतालमा उनीहरूको उपचार जारी छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरेलगायतका नेताहरूले पनि अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
अस्पताल प्रशासनले भिडभाडले संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भेटघाट बन्द गरेको जनाएको छ। यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।















