काठमाडौं । नेपाल सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच पाँच बुँदे सहमति भएपछि ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको मूल्य प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति जुटेको हो।
सहमतिअनुसार, नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य र आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च समायोजन गर्दै साविकको खर्चमा १२ रूपैयाँ ७५ पैसा वृद्धि गरेको जानकारी उद्योग संघका पदाधिकारीलाई गराइएको छ।
सहमतिपछि अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रूपैयाँबाट बढेर १,९२२ रूपैयाँ ७५ पैसा पुगेको छ। वार्तामा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की तथा अन्य सरकारी अधिकारीहरू र ग्यास उद्योग संघका प्रतिनिधिहरू सहभागी भएका थिए।
यस सहमतिपछि ग्यास आपूर्तिमा सहजता आउने विश्वास गरिएको छ।















