लहान १२ साउन ।कुकुरले टोकेको छ, अस्पताल जानु त… तर अस्पतालमै खोप छैन भने अब कहाँ जाने?” – यस्तो पीडा बोकेर आउने विरामीको अनुहारमा अहिले रामकुमार उमा स्मारक प्रादेशिक अस्पताल, लहान पुग्नेबित्तिकै निराशा झल्किन्छ।
दुई महिनादेखि रेबिजविरुद्धको खोप अभावमा अस्पताल आउँदा पनि विरामीहरू उपचारबाट वञ्चित छन्। दैनिक २०-२५ जनासम्म कुकुरको टोकाइबाट प्रभावित हुने विरामी आउँछन्, तर खोप नहुँदा उनीहरू निजी क्लिनिक र फार्मेसी धाउन बाध्य छन्।
रेबिज – कुकुर, बिरालो वा बाँदरको टोकाइबाट लाग्ने भाइरल रोग। एक पटक लक्षण देखापरेपछि ज्यानै जाने खतरा हुने यो रोगको एक मात्र बचाउ भनेको समयमै लगाउने खोप हो। त्यसमा पनि ७२ घण्टाभित्र।
तर लहानमा खोप छैन। नतिजा – कोही ६ सय रुपैयाँ तिरेर निजी क्लिनिक जान्छन्, कोही चुपचाप घर फर्कन्छन्।
अस्पतालका मेसु डा. रञ्जित झा भन्छन्, “यो समस्या लहान मात्र होइन, सम्पूर्ण मधेश प्रदेशमै छ। हामी स्वास्थ्य आपूर्ति केन्द्रसँग समन्वयमा छौं, चाँडै समाधानको अपेक्षा गरेका छौं।
तर समाधान कहिले ? मधेशका सप्तरीदेखि पर्सासम्मका प्रमुख अस्पतालमा पनि खोप छैन। महामारीको जोखिम बढिरहेको छ, तर राज्यको मौनताले पीडितहरू अझ बेवास्ताको शिकार भइरहेका छन्।
स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने राज्यको दायित्व हो, तर अहिलेको अवस्थाले प्रश्न उठाएको छ – जनताको ज्यानको मूल्य कति हो?















