राजविराज– सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आइतबार राति करिब ८:५० बजे इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको कमान्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको हाइलक्स गाडीलाई चेकजाँच गर्ने क्रममा २३ लाख रुपैयाँ र विभिन्न इलेक्ट्रोनिक उपकरणहरू बरामद गरेको हो।
बरामद रकममा एक हजार दरका १,३९९ थान र पाँच सय दरका १,८०२ थान नोट रहेका छन्।
गाडीमा सवार दुई जना व्यक्ति नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई रहेका छन्।
त्यसका अतिरिक्त गाडीभित्रबाट टेकोन पम्प १०० थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान फेला परेको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको उक्त रकम र सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
सप्तरी जिल्ला अदालतबाट उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।















