Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

‘मधेशमा एउटा नयाँ शक्ति जन्मिन खोज्दैछ’


‘मधेशमा एउटा नयाँ शक्ति जन्मिन खोज्दैछ’

मधेशी समुदायमाथि राज्यले विभेद गरेको सत्य हो, तर त्यति मात्रै समस्या होइन । अरू समस्याबारे कोही बोलेनन् । ती पक्षहरूमा टेकेर मधेशमा नयाँ शक्ति जन्मिन खोज्दैछ ।

ADVERTISEMENT

काठमाडौं । सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका डा. सीके राउतले खोलेको जनमत पार्टीले पछिल्लो समय तराई–मधेशमा गतिविधि बढाएको छ । उसले जनता समाजवादी पार्टी (जसपा)का कार्यक्रममा अवरोधदेखि सडकमा लाठी–भाटा प्रदर्शनसम्म गर्न थालेको छ ।

राजनीतिक विश्लेषक तुलानारायण साह भने मधेशको राजनीतिमा राउत सामाजिक रुपान्तरणको मार्गचित्र सहित आएको बताउँछन् । मधेशकेन्द्रित दलहरूले सत्तामा पुगेपछि सामाजिक रुपान्तरणको एजेण्डा अघि सार्न नसकेको बताउँदै उनी भन्छन्, ‘यहींबाट सीके राउतको यात्रा शुरू हुन्छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

यद्यपि, राउतले उठाउन खोजेका मुद्दाहरू मधेशमा ‘सेल’ हुन्छन् कि हुँदैनन् ? चुनावी राजनीतिमा उनको पार्टीको आकार कत्रो हुन्छ भन्ने अनुमान अहिल्यै गर्नु चाहिं हतार हुने उनी बताउँछन् । प्रस्तुत छ, विश्लेषक साहसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकाध ठाउँमा झडप वा तनावका घटना देखिएको छ । मधेशमा अहिले के भइरहेको छ ?

राजनीति जति ‘फ्रयाग्मेन्टेड’ हुन्छ, त्यति नै ‘र्‍याडिकल’ हुने सम्भावना हुन्छ । मधेशमा अहिले त्यही भएको हो । सानो ठाउँ, जनघनत्व बढी, पार्टीहरू धेरै, त्यसमा पनि पटक–पटक विभाजन, प्रतिस्पर्धा धेरै भएको ठाउँमा एउटा नयाँ पार्टी (जनमत) थपिएको छ । उसले पनि त्यही समाजमा ठाउँ बनाउनु छ । अरूभन्दा फरक देखिनलाई फरक मुद्दा र शैली अपनाएका हुन् कि !

हिजो कांग्रेस, एमाले र माओवादी हाम्रा होइनन् भनेर मधेशकेन्द्रित दलहरूप्रति आकर्षण बढ्यो । अहिले ती दल पनि हाम्रा लागि होइन रहेछन् भन्ने भएर सीके राउततिर आकर्षण बढेको भन्ने हो ?

मधेशीहरूले राज्यमा हिस्सेदारी खोज्ने आन्दोलनको इतिहास लामो रहे पनि अपनत्व महसूस गर्न थालेको हाल सालैदेखि हो । माओवादी जनयुद्ध र मधेश जनविद्रोहपछि नै यसमा व्यापकता आएको हो । यो दुइटा आन्दोलनहरूले समाज र राज्यमा व्यापक परिवर्तन ल्यायो ।

मधेशी समुदायमाथि राज्यले विभेद गरेको सत्य हो, तर त्यतिमात्रै समस्या होइन । अरू समस्याबारे कोही बोलेनन् । ती पक्षहरूमा टेकेर मधेशमा नयाँ शक्ति जन्मिन खोज्दैछ ।

माओवादी जनयुद्धले मधेशी समाजभित्रका वर्गीय, जातीय, लैंगिक सम्बन्धमा जबर्जस्त धक्का दियो । एउटा लाठी बोकेको प्रहरीलाई देखेपछि तर्सिने मधेशीहरूलाई माओवादी जनयुद्धले बन्दूक बोकेर प्रहरी चौकीमाथि आक्रमण गर्ने बनायो ।

त्यस्तै, मधेश विद्रोहले नेपाली राज्य, पहाडी समाज र मधेशी समाजबीचको सम्बन्धमा परिवर्तन ल्याइदियो । राज्यका संरचनाहरूमा थोरै भए पनि पुनर्संरचना भयो । संघीयता, आरक्षण, समानुपातिक निर्वाचन प्रणाली जस्ता कुराहरूले मधेशीहरूमा राज्यप्रतिको अपनत्वमा वृद्धि भयो । राज्यमा हिस्सेदारी खोज्ने क्रम बढयो ।

हिजो कांग्रेस, एमालेले जनआकांक्षा पूरा गर्न नसकेपछि माओवादी जनयुद्ध बलशाली भएको थियो । जनआकांक्षाको सवालमा माओवादी पनि कमजोर देखिएपछि मधेशमा फोरमको जन्म भयो । फोरमको पनि १०–१२ वर्ष परीक्षण भइसक्यो ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरूले मधेशी भएकै कारण हुने विभेद उजागर गरेर जनसमर्थन पाएका थिए । आम मानिसको व्यक्तिगत पीडाका पक्षहरू एजेण्डा बनेपछि मानिसहरू आन्दोलनमा जोडिन्छन् । नेतालाई पत्याउन थाल्छन् । त्यही कारण मधेश विद्रोह भएको थियो ।

आजको पुस्ता त्योभन्दा एक कदम अगाडि बढिसक्यो । २०६३ सालको दूधे बालक अहिले युवा वयमा पुग्न लाग्यो । उसलाई हिजो काठमाडौंमा वा पहाडको कुनै ठाउँमा कस्तो विभेद हुन्थ्यो भन्ने संस्मरण छैन वा कम छ । तर, पडाडी समाजभन्दा पछाडि परेको देख्दैछ । उसलाई आफ्नो समाजको रुपान्तरण चाहिएको छ । आफूलाई रोजगारी चाहिएको छ, जुन कुरा उपेन्द्रजी, महन्थजी वा राजेन्द्रजीको एजेण्डा बनेको छैन । उहाँहरूसँग सामाजिक रुपान्तरणको रोडम्याप छैन ।

महन्थ र राजेन्द्रजी त ३० वर्षदेखि सार्वजनिक जीवनमा हुनुहुन्छ । उपेन्द्रजी पनि १५ वर्षदेखि सार्वजनिक जीवनमा हुनुहुन्छ । उहाँहरू कति शुद्ध, कति अशुद्ध ? कति योग्य कति अयोग्य ? कति दिन सक्ने, कति नसक्ने ? सबैलाई थाहा भइसक्यो । अब उहाँहरूलाई सम्मान गर्न सक्छन्, तर अपेक्षा गर्दैनन् ।

उहाँहरूभन्दा सीके राउतको शैक्षिक पृष्ठभूमि, व्यक्तित्व, लगनशीलता र ‘त्याग’समेतको कारणले मधेशी समाजको एक तप्कामा नयाँ आशा जगाएको देख्न सकिन्छ । यसअघि विभेदविरुद्ध आन्दोलन गर्ने, निर्वाचन जित्ने र सत्तामा पुगेर राज्यको स्रोत दोहन मात्र गर्ने शैलीले भविष्यप्रतिको आशा खुम्चिंदै गएको थियो ।

काठमाडौंको सत्तासँग उठबस भएको बेला यादव, ठाकुर, महतोहरूको विद्रोही स्वर कमजोर हुन्छ । राउत त्यसै पनि चर्को बोल्ने मान्छे, त्यही स्वरका कारण उनलाई रुचाएको हो कि ?

उपेन्द्र, महन्थ र राजेन्द्रजीसँग संघीयता, आरक्षण, निर्वाचन चाहिन्छ । निर्वाचन प्रणालीमा सुधार, नागरिकताको समस्या समाधान हुनुपर्छ भन्ने एजेण्डाहरू थिए । त्यसलाई ‘सेल’ पनि गर्नुभयो, एकहदसम्म प्राप्त पनि गर्नुभयो । तीनवटा चुनावमा ‘क्यास’ गर्नुभयो । चुनाव जितेर स्रोतसाधन हातमा आएपछि सामाजिक रुपान्तरण गर्नुपर्ने थियो, तर उहाँहरूसँग त्यस्तो कुनै रोडम्याप नै देखिएन ।

बरु उहाँहरूको कार्यकर्तामा काँग्रेस–एमालेमा जस्तै अहंकार र दलाल प्रवृत्ति झागिंदै गयो । सिके राउतले यहींनेर राजनीतिक रुपान्तरणको उपलब्धिमा टेकेर सामाजिक रुपान्तरणको मुद्दा उठाएका छन् । कृषिमा आधारित समाजको दैनिक कष्टको मुद्दा उठाएका छन् । २०६९ सालमा राजनीतिमा आएका उनी केपी ओलीसँग सहमति गरेर शैली बदलेको दुई वर्षमा नेपाली राष्ट्रिय राजनीतिको केन्द्रकै सेरोफेरोमा छन् ।

तपाईंको मतलब, २०६४ सालको चुनावबाट उपेन्द्र यादव उदाए जस्तै आगामी निर्वाचनबाट सीके राउत मधेशमा एउटा शक्तिका रुपमा स्थापित हुँदैछन् भन्ने हो ?

अहिले नै त्यो भन्ने अवस्था छैन । तराई कांग्रेसदेखि फोरम, तमलोपा, सदभावनासम्मले राजनीतिक रुपान्तरणकै मुद्दा उठाए, तर समाजको आर्थिक–सामाजिक रुपान्तरणको राजनीति कसैले गरेनन् । उनीहरूसँग त्यो दृष्टिकोण नै भएन ।

मधेशी समुदायमाथि राज्यले विभेद गरेको सत्य हो, तर त्यति मात्रै समस्या होइन । अरू समस्याबारे कोही बोलेनन् । ती पक्षहरूमा टेकेर मधेशमा नयाँ शक्ति जन्मिन खोज्दैछ । त्यो नयाँ शक्तिले चुनाव जित्न अरू ‘फ्याक्टर’हरू महत्त्वपूर्ण हुन्छन् । २०६४ जस्तो आन्दोलनमय परिस्थिति अहिले छैन । सामान्य अवस्थामा नयाँ पार्टीले पहिलो चुनावमा आफ्नो परिचय स्थापित गराउँछ, दोस्रोमा अरूको लागि हाँक बन्छ र तेस्रो निर्वाचनमा जित्ने अवस्थामा पुग्छ ।

सीके राउत ४०–४२ वर्षका भए होलान्, अझै ३० वर्ष सक्रिय राजनीति गर्न सक्छन् । उनले अहिलेकै चुनावमा एकदम राम्रो ‘राइज’ गर्छन् भन्ने मलाई लाग्दैन । उनले पनि त्यस्तो सोचेको छैनन् होला । १५ वर्षयता मधेशमा उदाएको पुस्ताको प्रतिनिधित्व गर्न खोज्दैछन् उनी ।

रेमिट्यान्समा हुर्केको यो पुस्ता हिजोको भन्दा खुला समाजमा छ, जो फराकिलो सोचका साथ परिणाममा विश्वास गर्छ । केही नपाएर वा नसकेर राजनीतिमा लाग्ने, नेताको वरिपरि घुमिरहने र अन्ततः दलाली गर्न थाल्ने भन्दा आफूले गरिरहेको कामबाट परिबार चलाउने, समाजको रुपान्तरणका लागि राजनीति गर्ने तप्का राउतको साथमा रहेको अनुभूति हुन्छ ।

लाठी–भाटा बोकेर हिंड्ने, अरूलाई निषेध मार्फत भयको राजनीति गर्न खोजेको देखिन्छ नि ?

यसको सामाजिक–राजनीतिक कारण छ । समाजमा असन्तुष्टि छ । असन्तुष्टि नभएको भए समाज आन्दोलित हुनै सक्दैन । मधेशी समाज आन्दोलित समाज हो । मधेशी समाज ‘इमोसनल्ली चार्ज्ड’ छ । त्यसैले १० वर्षमा तीनवटा आन्दोलन भयो । त्यो ‘इमोसन’लाई सीके राउतले पनि ‘क्यास’ गर्न खोजेका छन् ।

जब राजनीति खण्डित हुन्छ र समाज ‘इमोसनल्ली चार्ज’ हुन्छ, सबै पार्टीका नेताहरू यो वा त्यो नाममा ‘र्‍याडिकल’ हुन बाध्य बन्छन् । नयाँ ‘फोर्स’ले त झन् र्‍याडिकल कुरा गर्छ । गरेन भने कसले पत्याउँछ र !

अर्को आर्थिक कारण छ । पछिल्लो पाँच वर्षमा प्रदेश र स्थानीय सरकारमा भएको बजेटको दुरुपयोगले निर्वाचित स्थानीय नेताहरूमा अहंकार र दवंगीपना बढाएको छ । उनीहरू कसैबाट डराउनै छाडेको देखिँदैछ । तपाइँ–मधेशका कुनै गाउँमा जानुस्, नेता हुन् कि कर्मचारी, एकै खालको उद्दण्डता देख्नुहुन्छ । उनीहरूमा भय पैदा गर्न भाटा बोकेर ज्ञापनपत्र दिने बाटो सीके राउतले पक्रिएको जस्तो लाग्छ ।

त्यसो भए, राउतले सामाजिक रुपान्तरणको मुद्दा उठाएर ढिलोचाँडो मधेशमा जसपा र लोसपाको स्थान लिन्छन् ?

मधेश आन्दोलनमै पनि ‘गियर चेन्ज’ जरुरी थियो । हिजो विभेदविरुद्ध विद्रोह र राजनीतिक रुपान्तरणका लागि आन्दोलन जरुरी थियो । त्यो गर्नुभयो, तर सत्तामा आएपछि एजेण्डामा ‘गियर चेन्ज’ जरुरी छ ।

जातीय समस्या छ, लैंगिक समस्या छ । शिक्षा र कृषिको सम्बन्धमा समस्या छ । यी समाजिक–आर्थिक सवाल कुनै पार्टीले बोकेनन् । यसलाई सीके राउतले क्यास गर्न खोज्दैछन् । यो उनको नयाँपन हो । यो फर्मुलाले काम गर्‍यो भने उनी मधेशमा नयाँ फोर्स बन्न सक्छन् ।

अर्को चुनावमा उपेन्द्रजी यही रुपमा रहनुहुन्छ जस्तो लाग्दैन । स्थानीय तहमा गठबन्धन नगर्दा २५ वटा मेयर जितेको थियो । तत्कालीन राजपासँग गठबन्धन गर्दा प्रदेशमा ३० र प्रतिनिधिसभामा १६ वटा सिट जित्यो । अब इलेक्ट्रोरल प्रतिस्पर्धा बेग्लै हुनेभयो । त्यस हिसाबले हेर्दा जसपा होस् वा लोसपा, प्रतिनिधिसभामा १० सिट जिते भने त्यो धेरै हुन्छ ।

उपेन्द्र यादव मधेशमा सीके राउत र केन्द्रमा डा. बाबुराम भट्टराईहरूको दोहोरो मारमा पर्ने देखिन्छन् नि ?

डा. भट्टराईहरूबाट खासै मारमा हुनुहुन्छ जस्तो लाग्दैन । अहिले भट्टराईका मानिसहरूले दुइटा प्रश्न उठाएका छन्– एउटा, मन्त्रिपरिषदमा नाम पठाउँदा एकलौटी गरियो र अर्को, यो पार्टीलाई समावेशी बनाउन खस आर्य र जनजातिलाई पनि राख्नुपर्छ ।

पहिलो कुरा, उपेन्द्रजीले मन्त्रिपरिषद्‍मा ज–जसलाई पठाउनुभयो, मलाई लाग्छ त्यो सही थियो । किनभने उहाँले कुन सन्दर्भमा नाम पठाउनुभयो भन्ने हेर्नुपर्छ । एउटा सन्दर्भ के थियो भने उहाँको समाजवादी पार्टीको एउटा ठूलो समूह विद्रोहमा उत्रिएको थियो, जसको नेतृत्व रेणु यादवले गर्नुभएको थियो । त्यसलाई टेकेर केपी ओलीले पार्टी विभाजन गर्नुभएको थियो । त्यो असन्तुष्ट समूहलाई उहाँले सम्बोधन गर्नुपर्ने थियो । रेणु महिला पनि भएकाले उहाँ उपयुक्त पात्र हुनुभयो ।

अर्को, राजपाको एउटा समूहले पार्टीको आधिकारिकता विवादमा उपेन्द्रजीलाई साथ दिएको थियो । त्यसबाट पनि कसैलाई पठाउनुपर्थ्यो । त्यसमा महेन्द्र राय यादव सबभन्दा सिनियर हुनुभयो । त्यसरी उपन्द्रजीले सर्लाहीमा महन्थ ठाकुर र राजेन्द्र महतोको बीचमा राजनीति पनि गर्नुभएको छ ।

तेस्रो, पार्टीलाई जनजाति आधार क्षेत्रमा विस्तार गर्नुपर्छ भनेर अशोक राई समूहसँग एकता गर्नुभएको थियो । त्यो खेमाबाट काठमाडौंका राजेन्द्र श्रेष्ठलाई पठाउनुभयो । उपेन्द्रजी लेखपढको सवालमा श्रेष्ठमाथि निर्भर पनि हुनुहुन्छ । त्यस हिसाबले पनि त्यो नराम्रो भएन ।

चौथो, चुनावमा राम्रो मत पाएको बारा, पर्सा र रौतहटबाट एकजनालाई पठाउनुपर्ने थियो । त्यसमा प्रदीप यादवलाई छाडेर रामसहायप्रसाद यादवलाई छनोट गर्नुभयो, जो लामो समयदेखि उहाँसँग हुनुहुन्छ । उपेन्द्रजीसँग जे–जे विकल्पहरू थियो, त्यसमा उहाँको छनोट उपयुक्त लाग्छ ।

पार्टीमा एकलौटी गर्‍यो भन्ने आरोप लगाउनेहरूले सबभन्दा पहिला उपेन्द्रजीको ‘पोलिटिकल मेट्रिक्स’ बुझ्नुपर्छ । उहाँले कसैलाई खुसामद गरेर मेरो पार्टीमा आइदेऊ, तिमी ठूलो नेता हो, विद्वान हो भनेर भनेको छैन । कोही मिल्न आयो भने नाइँनास्ति पनि गर्नुभएको छैन ।

दोस्रो, प्रदेश संरचना बनेपछि उपेन्द्रजीले राम्रोसँग के बुझ्नुभएको छ भने अब मेरो पार्टीको जनाधार मधेश प्रदेश हो । त्यसैले विराटनगरबाट सप्तरी आउनुभयो । अब प्रदेश–१ र लुम्बिनी उहाँको दोस्रो, तेस्रो प्राथमिकतामा मात्र पर्छ ।

तेस्रो, उपेन्द्रजी कमिटीमा बहुमत र कार्यकारी शक्तिमा कुनै सम्झौता गर्नुहुन्न भन्नेमा प्रष्ट हुनुहुन्छ । मधेशी जनअधिकार फोरमदेखि आजसम्म उहाँ प्रष्ट हुनुहुन्छ – यसमा कुनै सम्झौता हुन्न । उहाँ सहअध्यक्ष दिनसक्नुहुन्छ, वरिष्ठ नेता दिनसक्नुहुन्छ, संघीय परिषद् अध्यक्ष दिन सक्नुहुन्छ, तर कार्यकारी अधिकारमा कुनै सम्झौता गर्नुहुन्न ।

उपेन्द्रजीलाई के पनि थाहा छ भने नेपालमा खसआर्य समुदायले आगामी २० वर्षसम्म पनि मधेशीलाई नेता मान्दैन । बाहुन क्षेत्रीले भोट दिइहाल्छन् र यो पार्टी राष्ट्रिय पार्टी बनिहाल्छ भन्नेमा उहाँलाई शंका छ ।

डा. भट्टराईले पहिला मानका खातिर संघीय परिषद् अध्यक्ष माग्नुभयो । उहाँका लागि विधान संशोधन गरेर त्यो व्यवस्था गरियो । अहिले कार्यकारी अध्यक्षमा दाबी गर्नुभएको छ, जुन उपेन्द्रजीले दिनुहुन्छ जस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने जसपाभित्र उपेन्द्रजी होइन, यो विवाद उठाउने समूह चाहिं समस्यामा पर्नसक्छ ।

मधेश प्रदेशमा बाहिरबाट कांग्रेस, भित्रबाट जसपाको दबाव हुने, पार्टी भित्रकै गैरमधेशी नेताहरूको विश्वास नजित्ने हो भने त उपेन्द्रजी झन् संकटमा पर्नु होला नि ?

ठीक हो । इलेक्ट्रोरल पोलिटिक्समा कांग्रेसको पावर पोलिटिक्सले रोल गर्छ, जनमत पार्टीको र्‍याडिकल पोलिटक्सले पनि रोल गर्छ । त्यसैले उपेन्द्रजीको कल्पनामा धेरै ठूलो पार्टीको नेता हुने पनि छैन जस्तो लाग्छ ।

सीमान्तकृत राजनीति गर्नेहरूका आफ्नै सुखदुःख पनि हुन्छन् । नेपालमा सीमान्तकृतहरूको जुन आन्दोलन अगाडि बढेको छ, यो दुनियाँमा नौलो होइन । त्यही भारतमा अगाडा र पिछडाका नाममा अनेक राजनीति भएका छन् । मधेशको राजनीतिलाई तपाईं उत्तरप्रदेश र बिहारको राजनीतिभन्दा धेरै पर लगेर हेर्न सक्नुहुन्न ।

त्यसैले, उपेन्द्रजीको कल्पनामा पार्टी ठूलो होस् वा सानो कार्यकारी शक्ति आफूमा निहित हुनुपर्छ । ५–१० सिट जितेर केन्द्रीय सत्तामा ‘एडजस्ट’ भइराख्नुपर्छ । त्यसभन्दा बाहेक सोच छ जस्तो लाग्दैन ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.