काठमाडौं।मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता पूर्णरूपमा प्रभावी रहनेछ।
निर्वाचन आयोगले शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। यो निर्णय निर्वाचन हुने सम्बन्धित जिल्लामा प्रभावकारी हुनेछ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, निर्वाचन आचारसंहिता लागू भएका जिल्लाका बाहेक अन्य क्षेत्रमा यदि आचारसंहिताले निषेध गरेका कार्य गर्नुपरेमा आयोगलाई पूर्व जानकारी दिई मात्र त्यसको अनुमति लिन सकिनेछ।
आयोगले आचारसंहिता पालना गर्नु सबै व्यक्ति, संस्था तथा अधिकारीहरूको कानूनी दायित्व र नैतिक बन्धन भएको बताएको छ। आयोगले यसलाई पूर्णरूपमा पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोगको अपेक्षा गरेको छ।
मंसिर १६ गतेको उपनिर्वाचनले विभिन्न स्थानीय तहका पदाधिकारीहरूको रिक्त स्थान पूर्ति गर्नेछ। आचारसंहिताको पालना मार्फत निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउने आयोगको उद्देश्य रहेको छ।















