अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार साँझ भएको एक दुखद विमान दुर्घटनामा छ जनाले ज्यान गुमाएका छन्।
लियरजेट ५५ मोडेलको एयर एम्बुलेन्स विमानले फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको मात्र चार माइल टाढा पुग्दा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चार चालक दलका सदस्य, एक बिरामी बालक र ती बालकको हेरचाहका लागि एक जना स्वास्थ्यकर्मी सवार थिए।
विमान मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थलतर्फ गइरहेको बताइएको छ। सामाजिक सञ्जाल र अमेरिकी मिडियामा सार्वजनिक भएका भिडिओहरूमा विमान तीव्र गतिमा जमिनतर्फ खस्दै विस्फोट भई आगोको लप्कामा परिणत भएको देखिन्छ।
दुर्घटनाका कारण विमानका टुक्रा चारैतिर छरिएका थिए, जसका केही भग्नावशेष नजिकै रहेका होटलहरू र पार्किङ गरिएका गाडीहरूमा समेत पुगेको छ। दुर्घटनास्थल नजिक रहेको रुजवेल्ट मल र वरपरका घरहरूमा समेत क्षति पुगेको खबर छ।
हालसम्म विमानमा सवार कुनै पनि व्यक्ति जीवित नरहेको पुष्टि भएको छ। बाहिरी व्यक्तिहरूमा कुनै क्षति भएको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।















