प्रदिप सिंह
लहान – सिराहाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा न्यायको माग गर्दै लहानमा विशाल प्रदर्शन गरिएको छ। मुसहर समुदायका सदस्यहरू सहित स्थानीय नागरिकहरूको सहभागिता रहेको उक्त प्रदर्शन लहानको मुख्य चौक, गेट क्षेत्र तथा पूर्वपश्चिम राजमार्गमा गरिएको थियो।
प्रदर्शनका क्रममा ‘रिंकु सदालाई न्याय देऊ!’, ‘बलात्कारीलाई कडा कारबाही गर!’ जस्ता नाराहरू गुञ्जिएका थिए। आक्रोशित स्थानीयहरूले केहीबेर सडक अवरुद्ध गर्दै दोषीमाथि कठोर कारबाहीको माग गरेका थिए।
दबाबमूलक प्रदर्शनपछि लहान नगरपालिका वडा नम्बर १, मटियार्वास्थित श्री आधारभूत विद्यालयको परिसरमा कोणसभा गर्दै आन्दोलन समापन गरिएको थियो।















