काठमाडौं :काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरूद्वारा गरिएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले १०५ जनालाई नियन्त्रणमा लिएको छ। तोडफोड, आगजनी र प्रहरीसँग झडपमा संलग्न भएकाहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन्।
उनका अनुसार, प्रहरीले पक्राउ परेकामध्ये एकजनाले बन्दुक खोस्ने प्रयास गरेका थिए। यद्यपि, उनको नाम खुलाइएको छैन। प्रदर्शनको क्रममा अनलाइनखबरका पत्रकारमाथि आक्रमणसमेत भएको छ।
प्रहरीले अमानवीय, अमर्यादित र गैरकानुनी गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। यसैबीच, राप्रपाका नेता रविन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाललगायतका अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परिसकेका छन्।
राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ, भने आन्दोलनका प्रमुख अगुवा दुर्गा प्रसाईं भने फरार छन्।















