लहान २५ बैशाख । सिरहाको नवराजपुर गाउँपालिका–३, दानबारीकी २४ वर्षीया दलित युवती आनन्दीदेवी सदायले २ वैशाखमा आत्महत्या गरेकी हुन्। ९ पुसमा यौन दुर्ब्यवहारमा परेकी उनले चार महिनासम्म न्याय नपाएपछि जीवन समाप्त गरेकी हुन्। उनको घटनामा प्रहरीको भूमिका उदासिन देखिएको छ, जबकि दोषीहरू अझै फरार छन्।
आनन्दी बरियारपट्टी गाउँपालिका–१, नर्गीमा दिदीलाई भेट्न जाँदै गर्दा स्थानीय श्यामसुन्दर यादव (३२) र सञ्जीवकुमार यादव (२२) ले यौन प्रस्ताव राखी बलात्कार प्रयास गरेका थिए। प्रतिवाद गरी उनी घर फर्केपछि सोही दिन इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ‘जबरजस्ती करणी उद्योग’ अन्तर्गत जाहेरी दिइएको थियो। तर, प्रहरीले जाहेरी दर्ता नगरी आर्थिक लेनदेनमार्फत मिलाउन दबाब दिएको र पछि जाहेरी रद्द गरेर पीडित परिवारको अपमान गरेको आनन्दीकी आमा बिल्टौनले बताइन्।
४ माघमा भरपाई दिइए पनि भोलिपल्ट प्रहरी हबलदारले गालीगलौज गर्दै भरपाई च्यातेका थिए। अन्ततः मिडियामा जाने चेतावनीपछि मात्रै २५ फागुनमा जाहेरी दर्ता भयो र २६ फागुनमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरियो। तर, प्रहरीले दोषीहरूलाई अझै पक्राउ गरेको छैन।
इलाका प्रहरी इन्स्पेक्टर रविनराज मैनालीका अनुसार जाहेरी मुद्दा फाँटका प्रहरीले थाहा नपाई दर्ता गरेकाले जिल्ला प्रहरीको आदेशमा बदर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयले प्रहरीमाथि घुस लिएको आशंकामा छानबिन समिति गठन गरेको छ।
डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार आरोपित दुवै जना फरार छन् र खोजी कार्य जारी छ।
आनन्दीको मृत्युमा समाज, प्रहरी र उनका पति उमेश सदायको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेका छन्। गाउँले, प्रहरी र पतिको व्यवहारले निराश बनेकी आनन्दीले आत्महत्या गर्नु परेको हो। उनका एक दुई वर्षीया छोरी पनि छन्।















