लहान।सिराहाको गोलबजार नगरपालिका–७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका एक शिक्षकले कक्षा ८ मा अध्ययनरत १३ वर्षीय विद्यार्थीलाई कुटपिट गरेका छन्। ‘पढाइमा कमजोरी’ देखिएको भन्दै शिक्षक सन्तोष गुप्ताले विद्यार्थी अभिनाश यादवलाई निर्घात कुटपिट गरेको पीडित परिवारले आरोप लगाएको छ।
नरहा गाउँपालिका–३ खोरियाका सुरेश यादवका छोरा अभिनाशको ढाड, तिघ्रा र अनुहारमा निलडाम र चोट देखिएको छ। उनी अहिले उपचारका लागि गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ।
घटनापछि पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय, गोलबजारमा उजुरी दर्ता गराएका छन्। आरोपित शिक्षक गुप्ता हाल प्रहरी नियन्त्रणमा छन् भने घटनासम्बन्धी अनुसन्धान भइरहेको इन्स्पेक्टर गोविन्द साहले जानकारी दिए।
विद्यालय सञ्चालक विजय महतोसँग सम्पर्क प्रयास गर्दा प्रतिक्रिया लिन सकिएन। घटनाले शैक्षिक संस्थामा बालअधिकारप्रतिको संवेदनशीलतामाथि प्रश्न उठाएको छ।















