सिराहा।सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ५ मा लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकहरू पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले मिति २०८२ असार २ गते राति करिब ९:३० बजे मिर्चैया-५ स्थित एक खाली घरमा तीन जना युवालाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा फेला पारेको हो।
प्रहरीलाई देख्ने बित्तिकै उनीहरूले लागुऔषध फालेपछि शंका लागि सो वस्तु जाँच गर्दा तीनवटा कालो प्लास्टिकमा बेरिएको ५४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मिर्चैया-५ का २० वर्षीय राहुल कुमार साह, २१ वर्षीय दिलिप कुमार साह र मिर्चैया-६ का २३ वर्षीय विशाल गिरी रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानका अनुसार घटनाबारे आवश्यक अनुसन्धान जारी छ।















