प्रदिप सिंह लहान १५ असार । सिरहाको लहान नगरपालिका–३ मा स्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ। विशेषगरी इमर्जेन्सी वार्डमा बिरामीको संख्या तीव्र रूपमा बढेपछि अस्पताल व्यवस्थापनमा चुनौती देखिन थालेको छ। ठाउँको अभावका कारण एउटै बेडमा तीन तीन जना बिरामीलाई राखेर उपचार गर्नुपरेको चिकित्सकहरूले जानकारी दिएका छन्।
चिकित्सकका अनुसार हालै अस्पतालमा सुधार गरिएको सेवा तथा सुविधाका कारण बिरामीहरूको विश्वास बढेको छ। यही कारणले गर्दा आसपासका जिल्ला र नजिकका ग्रामीण क्षेत्रबाट पनि बिरामीहरू उपचारका लागि यही अस्पतालमा आउने गरेका छन्।
अस्पतालमा सेवा विस्तारसँगै बिरामीको चाप बढ्नु सकारात्मक पक्ष हो, तर बढ्दो चापसँगै पूर्वाधारको माग पनि स्वाभाविक रूपमा उठेको छ।
सेवाग्राहीहरूका अनुसार इमर्जेन्सी वार्डलाई अझ फराकिलो बनाउने, थप बेडको व्यवस्था गर्ने र आवश्यक जनशक्ति वृद्धि गर्ने समयको माग हो।
सुविधामा सुधार हुँदै गए बिरामीहरूको उपचार अझ सहज र गुणस्तरीय हुने आशा गरिएको छ।















