लहान १५ असार ।सिरहाको लहान नगरपालिका उपमेयर रामचलितर महतो डेढ तोला सुन उधारोमा लिई रकम नतिरेको आरोपमा विवादमा तानिएका छन्। लहानस्थित विकास ट्रेडर्सका सञ्चालक राजाराम सारदाले आइतबार नगरपालिकामा उजुरी दर्ता गराउँदै उपमेयर महतोले २ लाख ५१ हजार ४ सय ३० रुपैयाँ बराबरको सुन एक वर्षअघि (०८१ साउन ३० गते) उधारोमा लिई रकम फिर्ता नगरेको उल्लेख गरेका हुन्।
राजारामका अनुसार महतोले चार–पाँच दिनमै रकम चुक्ता गर्ने वाचा गरेका थिए। तर, अहिलेसम्म कुनै रकम बुझाएको छैन। ‘सार्वजनिक पदमा रहेकाले पटक–पटक अनुरोध गर्यौं, तर तिर्ने मनसाय देखिएन,’ उनले भने।
लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले उजुरी दर्ता भएको पुष्टि गरेका छन्। ‘उपमेयरविरुद्ध उजुरी आएको छ। मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोर्ड बैठकमा पेस गर्न निर्देशन दिएको छु,’ मेयर चौधरीले बताए।
नगरपालिकाले छानबिन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। तर, उपमेयर महतोले भने आफूलाई उजुरी परेको जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘उजुरी परेको थाहा छैन, के छ भन्ने बुझ्नुछ,’ उनले भने।
स्थानीय व्यवसायी र नागरिकहरूले सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु असजिलो संकेत भएको प्रतिक्रिया दिएका छन्।















