लहान २३ असार – थारू अगुवा रमानन्द सिंह थारूको नाममा स्थापना गर्न लागिएको ‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’ अब प्रतिष्ठानको रूपमा रूपान्तरण गरिने भएको छ।
लहानमा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले प्रतिष्ठान स्थापनाको प्रतिबद्धता जनाउनुभयो। जनमत पार्टी अध्यक्ष डा. सिके राउतले पनि मन्त्रिपरिषद्बाट निर्णय गराउन आग्रह गर्नुभयो।
प्रदेश सरकारले सुरुमा २५ लाख बजेट विनियोजन गरिसकेको भए पनि थारू अगुवाहरूले थप बजेट माग गरेका छन्। प्रतिष्ठानमार्फत थारू भाषा, लिपि, मौखिक इतिहास, साहित्य, गीत–सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरिने बताइएको छ।
रमानन्द सिंह थारू संविधान मस्यौदाकार, पहिलो थारू महान्यायाधिवक्ता र थारू समुदायको पहिचानका लागि जीवन समर्पण गर्ने अग्रणी व्यक्तित्व हुनुहुन्छ।















