काठमाडौं ।निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्न तयारी सुरु गरेको छ। आयोगमा कार्यक्रमको खाका बनिसकेको छ भने पदाधिकारीहरूले त्यसमाथि छलफल गरिरहेका छन्। आयोग स्रोतका अनुसार, “पदाधिकारीहरूको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ।”
आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी गरेको छ। सो समयसीमा भित्र दर्ता नहुने दलले आगामी २१ फागुनको निर्वाचनमा भाग लिन पाउने छैनन्। त्यसपछि आयोगले फेरि दल दर्ताको आह्वान गर्नेछ र नयाँ दर्ता हुने दलले १० मंसिर हाराहारीको समयमा फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ।
उम्मेदवारहरूको मनोनयन मिति तय गर्न आयोगले करिब डेढ महिनाको समय राख्ने तयारी गरेको छ। माघको पहिलो साताभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। यसपटक प्रचारप्रसारको समय घटाएर करिब १५ दिन मात्रै राखिनेछ। त्यसैले ६ फागुनभन्दा अघि उम्मेदवारहरूले सभा, कोणसभा वा भौतिक प्रचार गर्न पाउने छैनन्।
आयोगसम्बद्ध स्रोतले भने, “खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढेको देखिएकोले दुई साताभन्दा बढी समय दिन नहुने निर्णय आएको हो।”
निर्वाचन कार्यक्रमको खाका तयार भएपछि आयोगले मंगलबार बृहत् बैठक गरी प्रधानमन्त्री, सबै मन्त्री, सुरक्षा निकायका प्रमुख र सचिवहरूको उपस्थितिमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनाएको छ।