राजविराज ।सामाजिक सञ्जालमा पछिल्ला दुई दिनयता सप्तरीको एउटा भिडियो भाइरल बनेको छ। उक्त भिडियोमा अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी सोफामा लम्पसार परेर सुतेका देखिन्छन् भने वडा नम्बर ५ का अध्यक्ष हरी खंग उनका खुट्टा मर्दै गरेको दृश्य देखिन्छ।
जनताको सेवकका रूपमा निर्वाचित जनप्रतिनिधिको यस्तो विलासी दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना चुलिएको छ। भिडियोमा देखिएको अवस्था गाउँपालिकाको कार्यालयकै कार्यकक्षको जस्तो देखिन्छ, जसमा एसी र दुई वटा टेबल पनि राखिएका छन्।
सार्वजनिक आलोचनापछि अध्यक्ष चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्। उनले आफू अस्वस्थ रहेको बेला वडाध्यक्ष खंगले गरेको मानवीय सहयोगलाई तोडमोड गरी प्रचार गरिएको बताएका छन्।
उनका अनुसार खुट्टा मालिस गर्ने हरी खंग उनीकै भानिजो हुन् र मधेशी समुदायमा आपसी सहयोग र अपनत्वका रूपमा यस्तो परम्परा रहँदै आएको बताए।
चौधरीले भनेका छन्, “सत्यतथ्य नबुझी गलत मनसायले गरिएको टिकाटिप्पणीले सिङ्गो गाउँपालिकाको अस्तित्व र स्वाभिमानमा प्रश्न उठाएको छ, त्यसकारण यस्ता टिप्पणी नगर्न अनुरोध गर्दछु।”
उक्त भिडियो असोज ५ गते गाउँपालिकाकै कार्यकक्षमा खिचिएको भएको पनि उनले स्पष्ट पारेका छन्।