काठमाडौं ।कुमारी तृष्णा शाक्यको दैनिक उपभोग्य सामग्री ओसारपसारका क्रममा सवारी प्रवेश रोकिएपछि काठमाडौं महानगरपालिका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे विरुद्ध स्थानीय आक्रोशित भएका छन्। स्थानीयले प्रमुख पाण्डेको राजीनामा र मेयर बालेन साहले क्षमापूजा गर्नुपर्ने माग अघि सारेका छन्।
इन्द्रजात्रा व्यवस्थापन समिति, हनुमानढोका दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमिति लगायतका संस्थाले बिहीबार बैठक गर्दै शनिबार पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
१० दिनअघि भएको घटनामा कुमारी घर अगाडि सामान लैजान सवारी प्रवेश रोकिएको थियो। इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले भने, “हामीले धेरै अनुनयविनय ग¥यौं, तर नगर प्रहरी प्रमुखले जीवित देवी कुमारीको सामान लैजान अनुमति दिएनन्।”
शाक्यका अनुसार, उपमेयर सुनिता डंगोलले समेत निर्देशन दिँदा पाण्डेले नमान्ने व्यवहार देखाएका थिए। उनले विश्व सम्पदासूचीमा सूचीकृत दरबारक्षेत्रमा प्रहरीको अडानले जीवित देवीको अपमान गरेको बताएका छन्।
महासमितिका संरक्षक मनोज नेवाः खड्गीले भने, “कुमारीमाथि अपमान गर्ने प्रहरी बल प्रमुखको राजीनामा पहिलो र अन्तिम माग हो।” राजीनामा नआएमा आन्दोलन कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।
उता, प्रहरी प्रमुख पाण्डेले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आरोप असत्य र भ्रामक भएको दाबी गरेका छन्। उनले गद्दी बैठकदेखि कुमारी घरसम्म ट्रलीमार्फत सामान ढुवानीको व्यवस्था गरिएको र महानगर प्रहरीले सहजीकरण गरेको स्पष्ट पारेका छन्।
तर स्थानीयले ट्रलीको व्यवस्थालाई नै विवादास्पद भन्दै कुमारीको परम्पराप्रति प्रहरी असंवेदनशील भएको आरोप लगाएका छन्। पाण्डेले भने, “विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जात्रा सम्पन्न गर्न सबै सहयोग गरेका छौं,” भनेर आफू र प्रहरी बलमाथिको आलोचनालाई अस्वीकार गरेका छन्।