धनुषा। धनुषाको हंसपुर नगरपालिका–७ मा एक महिलाले अर्की महिलाको हत्या गरी गरगहना लुटपाट गरेको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ ।
६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी सुनचाँदीका गरगहना लुटेको आरोपमा सोही स्थानकी ४५ वर्षीया पवित्री देवी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मण्डलको साथबाट लुटिएका गरगहना र दासलाई मार्न प्रयोग गरिएको हतियार दुवै बरामद गरिएको छ । सोमबार राति करिब ९ बजे घरबाट करिब ५०० मिटर टाढा चन्द्रकला दासको शव फेला परेको थियो ।
धनुषा प्रहरीले पक्राउ परेकी मण्डललाई जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।














