खेमरञ्जन यादव साउदी।साउदी अरेबियाले यमनको मुकाल्ला सहरस्थित बन्दरगाह क्षेत्रमा आक्रमण गरेको छ। यससँगै साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) लाई आगामी २४ घण्टाभित्र यमनबाट आफ्ना सबै सेना फिर्ता बोलाउन निर्देशन दिएको छ।
साउदी अरेबियाले युएईमार्फत ठूलो मात्रामा हतियार यमनको दक्षिणी भूभाग नियन्त्रणमा रहेका पृथकतावादी समूहहरूलाई पठाइएको दाबी गरेको छ। ती हतियारले यमनको सुरक्षा र स्थायित्वमा गम्भीर खतरा पैदा गरेको साउदी पक्षको आरोप छ।
आक्रमणपछि यमनको स्थिति थप तनावग्रस्त बनेको छ। यमनको राष्ट्रपति परिषद्ले देशभर आपतकालीन अवस्था घोषणा गरेको छ। सुरक्षा सतर्कता बढाइएको र सबै सुरक्षा निकायलाई उच्च तयारी अवस्थामा राखिएको जनाइएको छ।
यस विषयमा युएई सरकारले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर क्षेत्रीय राजनीति थप जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।
यमनमा जारी द्वन्द्वले मध्यपूर्व क्षेत्रमा नयाँ संकट निम्त्याउने आशंका बढ्दै गएको छ।















