प्रदीप सिंह
लहान । समाजसेवामार्फत स्थानीयवासीमाझ राम्रो पहिचान बनाउँदै आएका नेपाली कांग्रेसका नेता जयकिशोर यादवले आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिँदै नवराजपुर गाउँपालिकाका विभिन्न टोलमा दुई दिनमै १२०० थान झुल वितरण गरेका छन्।
नवराजपुर गाउँपालिका–१ का ढेकाहा, मुस्लिम टोल, मरिकटोल, तमसिया र माझीटोल तथा वडा नं. ३ का जगतपुर, रामटोल, फुलबरिया, मोरिकटोल र कामती टोलमा घरघरमै पुगेर झुल वितरण गरिएको हो।
लामखुट्टेको टोकाइबाट बच्ने उद्देश्यले झुल वितरण गरिएको उनले बताए। झुल पाएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।
विगत केही महिनादेखि झुल वितरण अभियान सञ्चालन गर्दै आएका यादवले झुल वितरणमा मात्र सीमित नभई पालिकाभित्रका नागरिकसँग निरन्तर संवाद गर्ने र आवश्यकताअनुसार सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।















