प्रदिप सिंह
लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित त्रिमूर्ति चोकमा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना गरिएको छ।
शान्तिनगर बजार विकास समिति तथा मेला व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले मिथिलाको कला, संस्कृति र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति दिएका थिए।
माध्यमिक विद्यालय महेशवारी, महदेवा पोर्ताहा, सोठियाइन र मौवाहीका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
पूर्व गाविस अध्यक्ष रामनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका पूर्व सांसद अशोककुमार यादव प्रमुख अतिथि थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादव, वडा अध्यक्ष भोगी यादव, शिक्षक रामखेलोन यादव, शशी चौधरी, शत्रुधन यादव लगायत सहभागी थिए।
स्थानीय बजारको पहिचान स्थापित गर्ने, सामाजिक एकता बढाउने तथा धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यले ‘सबैको सहभागिता, सबैको सहयोग’ भन्ने नारासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
मेलाको सौजन्य गाउँपालिका वडा नम्बर ३ को कार्यालयले गरेको थियो।















