काठमाडौँ।नेपालमा तिहारको विशेष पर्व यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू भएको छ। कात्तिक कृष्ण त्रयोदशीका दिन अर्थात् धनतेरस मनाइँदै, यस पावन अवसरमा सुन, चाँदीका गहना र सिक्का किन्ने परम्परा छ। आज बिहान ११ बजेर एक मिनेटपछि त्रयोदशी तिथि लाग्ने भएकाले, धनतेरस मनाइँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यमदीपदान विधि भोलि, बुधवारदेखि आरम्भ हुनेछ। बुधवारका दिन काग तिहार मनाइनेछ भने यसैदिन धनवन्तरी जयन्ती पनि परेको छ। पर्सि बिहीवार, तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। बिहीवार बिहान कुकुर तिहार मनाइँदा साँझ लक्ष्मीपूजाको तयारी गरिनेछ।
यस वर्ष गाईगोरु पूजा र आत्म (म्ह) पूजा कात्तिक १७ गते शनिवार परेको छ, जसको दिन नै नेपाल संवत् ११४५ को नयाँ वर्ष पनि शुरू हुनेछ। यसपटकको भाइटीका कात्तिक १८ गते आइतवार मनाइनेछ, शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ भने सूर्यास्त नभएसम्म टीका लगाउन कुनै समस्या नरहेको समितिले जानकारी दिएको छ।
तिहारको यस अवसरमा देशभर किनमेल र तयारीले बजारहरू चलायमान बनेका छन्।















