दाङ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९, भञ्ज्याङको भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४५ वर्षीय कर्णबहादुर थापाको लमही अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख हरि खनालले जानकारी दिए। सोही दुर्घटनामा गम्भीर घाइते भएका तुलसीपुर–७, झुमरे चोकका ३३ वर्षीय पूर्णबहादुर खत्रीको उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटनापछि प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितको टोलीले तत्काल घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।















