काठमाडौँ–मधेसका विभिन्न जिल्लामा आज हर्षोल्लासका साथ होली मनाइँदै छ। हिमाली तथा पहाडी जिल्लामा फागुपूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्परा अनुसार आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली उल्लासपूर्वक मनाइँदै छ।
रङहरूको पर्व होलीले जातजाति, धर्म तथा वर्गभेदलाई भुलेर सबैलाई समानताको रंगमा रंगाउने विश्वास गरिन्छ। पण्डित बुद्धिसागर भण्डारीका अनुसार होली असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक हो।
यस पर्वलाई मर्यादित बनाउन प्रहरी प्रशासनले सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले अनुमति बिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने तथा मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने बताए। साथै, होली खेल्दा अन्जान व्यक्तिसँग नभई आफन्तसँग मात्र खेल्न, जबर्जस्ती रङ नलगाउन, केमिकल रङको प्रयोग नगर्न र कुनै अप्रिय घटना भएमा तुरुन्त प्रहरी हटलाइन १०० मा खबर गर्न अनुरोध गरिएको छ।
तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ भने होलीलाई शान्तिपूर्ण एवं सुरक्षित बनाउन स्थानीय प्रशासन सतर्क रहेको छ।















