लहान ।सिरहाको लहान नगरपालिका-५ को गुदरी बजार अब आधुनिक व्यापारिक केन्द्रको रूपमा विकसित हुँदैछ। व्यवस्थित व्यापारिक पूर्वाधार निर्माणको लक्ष्यसहित नगरपालिका ८४ वटा सटरसहितको दुईतले भवन निर्माण गर्दैछ, जसको शिलान्यास नगर प्रमुख महेश प्रसाद चौधरीले गरेका छन्।
२२ करोड ९७ लाखको लागतमा बन्ने यो संरचनाले स्थानीय व्यवसायलाई व्यवस्थित गर्ने, आर्थिक गतिविधि प्रवर्द्धन गर्ने र नगरको राजस्व वृद्धि गर्ने अपेक्षा गरिएको छ। एम/एस बाबा निर्माण सेवाले जिम्मा लिएको परियोजना २०८३ असार २० भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
नगरपालिकाको यो कदमले गुदरी बजार, माछा बजार, मासु पसल र बकरी बजारलाई व्यवस्थित गर्दै व्यवसायीहरूलाई सुविधासम्पन्न व्यापारिक वातावरण प्रदान गर्नेछ। उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारडा, पूर्व वडा अध्यक्ष अरुण केशी, बजार समिति अध्यक्ष राजकुमार साह लगायत व्यापारी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
व्यवस्थित बजार निर्माणको पहलले स्थानीय व्यापारको मुहार फेर्ने र व्यापारीहरूको दीर्घकालीन हित सुरक्षित गर्ने विश्वास गरिएको छ।















