लहान १९ चैत।सिरहाको लहान नगरपालिका वडा नम्बर २१, कालाबञ्जरस्थित मुसहर समुदायलाई लक्षित गरी १४ कोठे सामुदायिक शौचालय हस्तान्तरण गरिएको छ। शौचालय अभावका कारण लामो समयदेखि खुला शौच गर्न बाध्य स्थानीय मुसहर समुदायलाई सहजता पुर्याउने उद्देश्यले नगरपालिकाले यो सुविधा प्रदान गरेको हो।
२८ लाख ६२ हजार ८०८ रुपैयाँको लागतमा निर्माण भएको शौचालयमा पानी, विजुली तथा हात धुने स्थानको व्यवस्था गरिएको छ। अपांगता भएका व्यक्तिहरूका लागि विशेष रूपमा अपांगमैत्री शौचालय पनि निर्माण गरिएको छ। यो परियोजना लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, दलित जनकल्याण युवा क्लब, एलियन वाटर र वाटर एडको सहकार्यमा सम्पन्न भएको हो।
शौचालयको उद्घाटन कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरीले सामुदायिक शौचालय सञ्चालन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरे। वडा अध्यक्ष राजकुमार यादवका अनुसार, समुदायका ४१ घरधुरीलाई लक्षित गरी यो शौचालय निर्माण गरिएको हो। स्थानीय स्तरमा मासिक १०० रुपैयाँ शुल्क संकलन गरी शौचालयको नियमित मर्मत सम्भार गरिनेछ। साथै, सरसफाईका लागि औषधि र ब्रस साङ्ग्री किन्नका लागि प्रत्येक घरबाट १०० रुपैयाँ मासिक संकलन गरिनेछ, जसबाट शौचालय फोहोर भएमा त्यसैबाट औषधि खरिद गरिनेछ।
शौचालयका अध्यक्ष लक्ष्मण सदालाई नगरपालिकाका मेयर महेश चौधरीको हातबाट औपचारिक रूपमा हस्तान्तरण गरिएको छ, साथै शौचालयको व्यवस्थापन तथा सञ्चालनको सम्पूर्ण जिम्मेवारी उनकै हातमा दिइएको छ।
७० वर्षीय स्थानीय बासिन्दा सनेचरी देवी सदायले अब खुला ठाउँमा शौच गर्न नपर्ने भएकाले आफूहरू अत्यन्त खुसी रहेको बताइन्। उनका अनुसार, पहिले समुदायमा केवल तीन घरमा मात्र शौचालय थियो, जसका कारण धेरैलाई खेतबारीमा जानुपर्ने बाध्यता थियो। ३० वर्षीया कविता सदायले पनि यो सुविधा प्राप्त भएपछि समुदायका महिलाहरू विशेष रूपमा सुरक्षित महशुस गरिरहेको बताइन्।
परियोजना प्रबन्धक राजेश लोहानीका अनुसार, समुदायमा शौचालयको प्रयोग, सरसफाइ तथा संरक्षणका लागि विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्थानीय तह र सरोकारवाला निकायहरू पनि शौचालयको नियमित अनुगमन तथा मर्मत सम्भारमा प्रतिबद्ध रहने जनाइएको छ।
नगरपालिका, नेपाल खानेपानी संस्थान, दलित जनकल्याण युवा क्लब, एलियन वाटर र वाटर एडको साझेदारीमा सञ्चालित ‘द विकन परियोजना’ अन्तर्गत उक्त सामुदायिक शौचालय निर्माण गरिएको हो।
स्थानीय बासिन्दाहरूले नयाँ शौचालय निर्माण भएसँगै खुला शौचको समस्याबाट मुक्ति मिल्ने विश्वास व्यक्त गरेका छन्। ‘हामीलाई धेरै समस्या थियो, महिलाहरूलाई झनै अप्ठ्यारो थियो। अहिले आफ्नै गाउँमै व्यवस्थित शौचालय बनेको छ, हामीलाई ठूलो राहत मिल्यो,’ स्थानीय बासिन्दा रामबती मुसहरले भनिन्।
यस परियोजनाबाट मुसहर समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ। नगरपालिकाले आगामी दिनमा अन्य वस्तीहरूमा पनि यस्ता आधारभूत सुविधाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।