सिरहा १ असार । विश्व रक्तदाता दिवसको अवसर पारेर सिरहाको कल्याणपुरमा एक विशेष कार्यक्रमसहित “श्रीकृष्ण फाउन्डेसन”को औपचारिक उद्घाटन गरिएको छ।
बिहान ७ बजेदेखि नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा युवादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। “सेवा नै धर्म हो, रक्तदान जीवनदान” भन्ने नारासहितको कार्यक्रममा ब्लड फर नेपालको सहकार्य थियो।
रक्तदाताको उत्साह र मानवीय समर्पणले कार्यक्रम स्थलमा विशेष ऊर्जा सञ्चार गराएको थियो।
दिउँसो २ बजेबाट सुरु भएको श्रीकृष्ण फाउन्डेसनको उद्घाटन कार्यक्रममा संस्थाका कार्यकारिणी अध्यक्ष राजाराम यादवको अध्यक्षता रह्यो भने उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहले गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले संस्थाको उद्देश्य, भावी योजना र सेवा क्षेत्रबारे प्रकाश पार्दै शिक्षा, सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा अनुसन्धान (PD Training) मा संस्था अग्रसर रहने जनाएका छन्। विशेषतः ग्रामीण तथा पछाडि पारिएका वर्गलाई लक्षित गर्दै समाज रूपान्तरणमा टेवा पुर्याउने फाउन्डेसनको दायित्वबोध वक्ताहरूले उल्लेख गरे।
रक्तदानजस्तो जीवनदायी कार्य र सामाजिक संस्थाको औपचारिक सुरुवात एउटै दिन सम्पन्न हुँदा कल्याणपुरमा आशा, प्रेरणा र चेतनाको सन्देश फैलिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।















