प्रदिप सिंह
लहान । सिरहाको लहानस्थित रहेको हिमालय विद्या निकेतनले भव्य रूपमा वार्षिक फुड एन्ड कल्चरल कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले चार वर्षदेखि निरन्तर गर्दै आएको यो कार्यक्रम धर्म, संस्कृति र परम्परा संरक्षणमा विद्यार्थीको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिन्छ।
कार्यक्रममा विद्यार्थीहरूले परम्परागत पहिरन, स्थानीय परिकार तथा संस्कृतिक प्रस्तुतिमार्फत आफ्ना मौलिकता झल्काउने उत्कृष्ट प्रदर्शनी गरे। उनीहरूले तयार पारेका परिकारहरू शिक्षक तथा अभिभावकलाई प्रसादस्वरूप अर्पण गरिएको थियो, जसले बालबालिकामा गौरव, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका पूर्व नगर प्रमुख प्रकाश केसी रहेका थिए। उनले विद्यार्थीहरूको सिर्जनशीलता र विद्यालयको आयोजनाको प्रसंसा गर्दै भने-हिमालय विद्या निकेतनले संस्कृति जोगाउन केवल कार्यक्रम होइन, एउटा उदाहरण प्रस्तुत गरेको छ। यस्ता कार्यक्रम सबै विद्यालयले अनुसरण गर्नुपर्छ।
त्यस्तै, विशिष्ट अतिथिमा प्रेस मञ्च नेपालका सिरहा अध्यक्ष महेश सिंहसहित विभिन्न क्षेत्रका सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयले शिक्षा मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र व्यक्तित्व विकासमा अग्रसर भूमिका खेल्दै आएको उल्लेख गरे।
वि.सं. २०७२ मा स्थापना भएको विद्यालयले हाल ८०० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयका अध्यक्ष निरज कुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको नेतृत्वमा निरन्तर सञ्चालन हुँदै आएका यस्ता कार्यक्रमहरूले विद्यार्थीको सर्वांगीण विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको विद्यालय प्रशासनले बतायो।
कार्यक्रम सफल रूपमा सम्पन्न गर्दै अतिथिहरू तथा अभिभावकले आगामी दिनमा पनि विद्यालयले यस्तै सृजनात्मक, शिक्षाप्रद र सांस्कृतिक रूपमा समृद्ध कार्यक्रमहरू निरन्तर ल्याउने अपेक्षा व्यक्त गरेका थिए।














